काठमाडौँ । चेतनामुलक लघु चलचित्र ‘जुभेनाइल’ काठमाडौँको एक विद्यालयमा प्रदर्शन गरिएको छ ।
विद्यार्थीलाई ज्ञान तथा चेतनास्तरको विकास गर्ने उद्धेश्यले निर्माण गरिएको लघु चलचित्र ुजुभेनाइलु राजधानीको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा शुक्रबार प्रदर्शन गरिएको हो ।
लागुपदार्थको प्रयोग, यसको दुरुपयोग र दुर्ब्यसनमा लागेमा यसले ब्यक्तिमा , परिवारमा र समाजमा पार्ने असरबारे चेतना दिने उदेश्यले निर्माण गरिएको लघु चलचित्र पहिलो दिन पद्मोदयका माध्यमिक तहका विद्यार्थीहरुलाई देखाइएको आयोजकले जनाएको छ ।
निर्माता तथा कलाकार माधव पौडेलको निर्माण र नेपालकै पहिलो सिनेमेटोग्राफरसमेत रहेकी सबनम मुखियाको निर्देशनमा बनेको सो लघु चलचित्र लागू पदार्थ र दुर्ब्यसनले पार्ने असरका बारेमा उपयुक्त ज्ञान मिलेको विद्यार्थीहरूले बताएका छन् । उनीहरूले आफूहरूलाई मेहनत गर्नुपर्छ, आमा बुवाको सपना असल मान्छे बनेर साकार पार्नु पर्छ भन्ने पाठ मिलेको बताएका छन् ।
यसका साथै विद्यार्थीसँगै बसेर लघु चलचित्र हेरेका प्रधानाध्यापक नारायणप्रसाद गौतमले पनि कार्यक्रम निकै प्रभावकारी भएको र यसले विद्यार्थीलाई कुनैपनि कुलतमा फस्न नहुने कुराको ज्ञान दिएको बताए । उनले मिहेनत गर्न र अनुशासनमा बस्नेबारे विद्यार्थीलाई पाठ मिलेको बताए । प्रधानाध्यापक गौतमले यस्ता खालका प्रदर्शन आगामी दिनमा पनि गर्न अनुरोध गरेका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक निर्मल खतिवडाले लागुपदार्थ र दुर्व्यसनका कारण बालबालिका, युवापुस्ता लगायत सबै वर्गका मानिसमा ठूलो असर पार्ने भएकाले यस्ता खालका फिल्ममार्फत जनचेतना दिनु आवश्यक रहेको बताए ।
फिल्मकी निर्देशक सबनम मुखियाले यस्तो चेतानामुलक चलचित्र ७७ वटै जिल्लाका विद्यालय प्रदर्शन गरिने योजना रहेको बताइन् । लघु चलचित्र जुभेनाइलमा कलाकारहरु कुमार गजुरेल, मोहन राई, ओम कृष्ण भण्डारी, माधव पौडेल , सन्जना तिमिल्सिना, निशा थापा, जय जगदिश अधिकारी र बिष्णु कोइरालालगएतको अभिनय रहेको छ ।