Saturday, 02, July, 2022

चितवनमा भीषण हावाहुरीले ३ जनाको मृत्यु

चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको मृत्यु भएको छ ।

हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०, ५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए ।

भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् भने भरतपुरका अधिकांश भागमा विद्युत लाइन छैन ।