Monday, 04, July, 2022

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका– ३ मिझिङ लोवाङमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ का २० वर्षीय सहचालक खुमे थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षीय चालक यमराज विष्ट गम्भीर घाइते छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरबाट वडा नं ६ गजुलकाभ्रातर्फ बालुवा लिएर जाँदै गरेको लु३त ९९६० नंको ट्र्याक्टर दुर्घटनाग्रस्त भएको थियो । ट्र्याक्टर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएकामा सहचालक थापाको बेलुका ६ः४५ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिनुभयो । चालक विष्टलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको रानाले बताउनुभयो ।