सुर्खेत, सुर्खेतको लेकवेशी नगरपालिका–४ सिमलेमा ‘बोक्सी’ भन्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारी पक्राउ परेका छन्। आइतबार ज्ञवालीहरुको कुलपूजामा सहभागी भएकी बाँकेकी एक महिलालाई बोक्सी लागेको भन्दै कुटपिट गर्नुका साथै दुई जना धामीले पालैपालो पैताला चटाएका थिए। प्रहरीले मंगलबार कुलपूजामा बोक्सी आरोपमा कुटपिट र पैतालो चटाएको अरोपमा दुई जना धामी र एक जना पुजारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पुजारी नन्दलाल ज्ञवाली र धामीहरु मिलन ज्ञवाली तथा भक्ति ज्ञवालीलाई पक्राउ गरिएको बताए । एसपी विष्टले मुलुकी अपराध संहिता, २०७४ को धारा १६८ अनुसार कारबाही प्रक्रियाका लागि अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए । धारा १६८ मा अपमानजनक तथा अमानवीय कसुर गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।