Saturday, 28, May, 2022

भारतका पूर्वविदेशमन्त्री खुर्शिदको घरमा हिन्दु कट्टरपन्थीबाट तोडफोड

काठमाडौं, हिन्दु कट्टरपन्थीको एक समूहले भारतका पूर्व विदेशमन्त्री सलमान खुर्शिदको घरमा आक्रमण गरेका छन् ।

विपक्षी दल कांग्रेसका अनुभवी नेता एवं पूर्व विदेशमन्त्री खुर्शिदको घरमा तोडफोड र आगजनी भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार नैनीतालस्थि खुर्शिदको घरमा स्थानीय हिन्दु समूहमा आबद्ध झण्डै २० जनाले आक्रमण गरेका हुन् ।

‘उनीहरूले नाराबाजी गर्दै ढुंगा हानेका थिए, झ्याल तोडफोड गरेका थिए र प्रवेशद्वारमा क्षति गर्दै ढोकामा आगो लगाएका थिए’, स्थानीय प्रहरी प्रमुख जगदिश चन्द्रले एएफपी समाचार माध्यमलाई भने ।

त्यस्तै हिन्दु कट्टरपन्थी समूहले खुर्शिदको पुत्ला जलाएको र गोली चलाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सन् २०१२ देखि २०१४ सम्म भारतको विदेशमन्त्री बनेका खुर्शिद सोमबारको घटना हुँदा घरमा थिएनन् । उनले पछि घटनासम्बन्धी तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

गत महिना सार्वजनिक भएको खुर्शिदको किताबमा मोदीको नेतृत्वमा रहेको हिन्दु राष्ट्रवादलाई बोको हराम र इस्लामिक स्टेट जस्ता आतंकवादी समूहसँग तुलना गरिएको छ । त्यसयता हिन्दु कट्टरपन्थीले खुर्शिद र उनले लेखेको किताबको विरोध गर्दै आएका छन् ।