Wednesday, 19, January, 2022

कवि कलानिधि दाहालको कविता संग्रह “आफैं भए सुन्दर”लोकार्पण

काठमाडौं, कवि कलानिधि दाहालको नयाँ कविता संग्रह “आफैं भए सुन्दर” लोकार्पण गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आयोजना गरिएको लोकापर्ण कार्यक्रममा प्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रमुख अतिथि जगतप्रसाद उपाध्याय, प्राज्ञ देवी नेपाल र गजलकार घनश्याम न्यौपाने परिश्रमीले कृति विमोचन गरेका हुन् ।

साहित्यकार एवं आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल महेशले कृतिका लेखक दाहाललाई कृति प्रकाशन भएकोमा शुभकामना दिँदै कृति यथार्थपरक भएको उल्लेख गरे ।

त्यसैगरि कृतिमाथि साहित्यकार डा.गोविन्दराज भट्टराई, गजलकार घनश्याम न्यौपाने परिश्रमीले पनि कविता संग्रहमाथि समिक्षात्मक टिप्पणी गरेका थिए ।

कृतिभित्रका कविताहरु — स्वरशिखर र स्वर हिमरानीहरू–शिव त्रिपाठीले वाचन गरेका थिए भने बलराम दाहाल, योगेन पौडेल, बालकुमार क्षेत्री, स्पन्दन विनोद, आरती विष्ट, कल्पना काफ्ले, रञ्जु गौतम घिमिरे, सविता बराल, इन्दिरा दाहाल, अञ्जना न्यौपाने, गोमा रेग्मी, सुशीला शर्मा धमला, सरु बस्नेत, बालप्रतिभा सिर्जन नेपालले एक—एक कविता वाचन गरेका थिए ।

संग्रहमा ८९ वटा शार्दूलविक्रीडित छन्दका अत्यन्त सुन्दर कविताहरु रहेका छन् ।

स्पन्दन विनोद, कमला महतको संयोजन एवं कुमार शर्मा अविरलको प्रविधि संयोजनमा अनलाईन जुम प्रविधिमार्फत् भएको सो कार्यक्रम लगातार ६ घण्टासम्म सञ्चालन भएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका सन्दर्भमा पनि कविहरुले रचना वाचन गरेका थिए ।

त्यसैगरि, गोमा उप्रेती, हरिविनोद खतिवडा, वीरेन्द्र नेपाल, तोयानाथ सुवेदी, प्रभा पोख्रेल, भावना न्यौपाने, घनश्याम पौडेल, गणेश लोहनी, वासुदेव ठकुरी, छत्रपति दाहाल, तारा घिमिरे, नारायण भट्टराई, कमला महत र कल्पना दाहाल र हरिभक्त सिग्देलले कृतिकार दाहालको कृृति “आफैं भए सुन्दर”को लागि बधाई दिँदै आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए ।