Saturday, 28, May, 2022

सुडानमा सैन्य कु विरुद्ध प्रदर्शन

एजेन्सी । सुडानमा सैन्य कु विरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।

केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ । सोमबार सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई सेनाले हिरासतमा लिएको थियो । सो कदम विरुद्ध सुडानमा विरोध प्रदर्शन भएको हो ।

सुडानमा गरिएको सैन्य कु को विश्वभर विरोध भएको छ । अमेरिकाले केही आर्थिक सहयोग रोकेको छ । सेनाले सरकार विघटन गर्दै सङ्कटकालको घोषणा गरेको छ । सेनाले २०२३ को जुलाईमा चुनाव गर्ने मिति समेत घोषणा गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले भने सेनाको निर्णयविरुद्ध सडकमा आउन आह्वान गरेको छ । सुडानमा शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सेना र नेताहरूबीच मतभेद रहँदै आएको थियो ।