Wednesday, 01, December, 2021

भारतीय तटबन्धका कारण वर्षेनी बाँकेको तटिय क्षेत्र डुबानमा

बाँके, गत तीन दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको बिन्दु पार गरेको छ । जसका कारण बाँकेको तटिय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको बिन्दु ५ मिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौ गाउँ बस्ती बाढीको जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

बुधवार विहान १० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ३ सेन्टिमिटर पुगेको उनले बताए । उनका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । बुधवार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहन सूचना जारी गरिएको छ । राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब ४ देखि ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ५ मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्र्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

नदीको सतह बढेर ५.३ मिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताए ।