Wednesday, 01, December, 2021

त्रिशूली वाङ्मय प्रतिष्ठानको काव्य उत्सव भव्य रुपले सम्पन्न

नुवाकोट, नुवाकोटेली साहित्यकारहरुको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानले भव्य रुपले शारदीय काव्य उत्सव सम्पन्न गरेको छ ।

नुवाकोटेली साहित्यकारहरुले विसं २०६६ मा स्थापना गरेको सो संस्थाले हरेक बर्ष दसैं अघि शारदीय काव्य उत्सव आयोजना गर्दै आएको छ ।

यसपटक घटस्थापना दिनमा प्रतिष्ठानले शारदीय काव्य उत्सव आयोजना गरेको हो । काठमाडौंको राष्टिय महिला आयोगको हलमा बिहिबार सम्पन्न कार्यक्रममा ३५ जना कविहरुले कविता, गीत, गजल, मुक्तक वाचन गरेको त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले जानकारी दिए ।

तस्बिर : पुरु लम्साल

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका आधुनिक नेपाली गद्य कविता फाँटका मानक कवि विमल निभाले यस प्रकारको कार्यक्रमले साहित्यकारहरुमा साहित्य रचनामा जोश र उर्जा जागृत हुने बताए । साथै उनले एक उत्कृष्ट कवितासमेत वाचन गरेका थिए ।

त्यसैगरि विशिष्ट अतिथिका रुपमा आमन्त्रित कवि एवं प्राज्ञ परिषद् सदस्य वियोगी बुढाथोकी, नेपाली पद्य कविता फाँटका प्रतिनिधि कवि भुवनहरि सिग्देल र नेपाली साहित्यलाई अन्तर्राष्टियकरण गर्ने व्यक्तित्व भिष्म उप्रेतीले त्रिशूली वाङ्मय प्रतिष्ठानले देशभरिका श्रष्ठाहरुलाई एक ठाउँ जम्मा गरेर एक अर्काका अनुभवहरु साटासाट गर्ने काम गरेकोमा हर्ष व्यक्त गरे ।

कवि विमल निभा

कार्यक्रममा प्रकाश गुरागाई, गणेशकमार मिश्र, महेश कार्की क्षितिज, विष्णु आचार्य अतृप्त, परशुराम परासर, सुशिल ठकुरी, रामकुमार पण्डित, जित अधिकारी, मीना घोरासैनी, भवानी प्रसाद अधिकारी, रिमा केसी, सुविन न्य लौ नेउपाने, श्याम रिमाल, प्रकाश सिलवाल, लक्ष्मी रुम्बा, देवेन्द्र अर्याल आँसु, सन्तोषी अधिकारी, जया ओझा, भवानी खतिवडा, श्याम संकल्प, दिनेश पाण्डे, नगाधिराज, धर्तीचन्द्र यात्री, राममणी सिटौला, प्रेम सिलवाल, शिवप्रसाद आचार्य र सन्तोष सिम्खडाले गित, कविता, मुक्तक, गजललगायत वाचन गरेको संस्थाका महासचिव एवं कार्यक्रम सञ्चालक श्यामराज पाठकले जानकारी दिए ।

पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ स्थापना गरिएको प्रतिष्ठानले साहित्यिक यात्रासंगै विविधि साहित्यिक गतिविधि गर्दै साहित्य, पर्यटन र समृद्धिलाई जोड्ने गरेको प्रतिष्ठानका अध्यक्ष आर एम डंगोलले उल्लेख गरे । उनले अघिल्लो वर्ष कोरोना भाईरसको जोखिमका कारण भौतिकरुपमा सबैको उपस्थितीमा कार्यक्रम गर्न नसकिएपनि यसपटक भने सबैजना उपस्थित गराएर कार्यक्रम सम्पन्न गरिएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र डंगोलले साहित्य र पर्यटनलाई एकाकार गर्ने प्रतिष्ठानको मूल ध्येय भएको बताउदैं हरेक वर्ष झै यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको बताए ।

त्यसैगरी कार्यक्रमका अतिथी समाजसेवी भाग्यश्री लामाले यसअघि पनि त्रिशूली वाङ्मय प्रतिष्ठानसंग सहकार्य गर्न पाएकोमा गर्व गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।