Tuesday, 26, October, 2021

कोरोनाविरुद्धको खोप वैशाखसम्म सबैलाई : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्।

बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधामन्त्री देउवाले कोरोना महामारीको खतरनाक रुप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुखेसो गरे।

कांग्रेस सभापति समेत रहेका देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताए। उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यम खोजमूलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायीक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए।

देउवाले नेपाल टेलिभिजन सरकारी सञ्चारमाध्यम भएकाले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकोले त्यो काम हट्नुपर्ने बताए। सबैलाई निष्पक्ष रुपले हेर्नुपर्ने उनको भनाइ थियो ।

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू–संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। उक्त घट्नामा नेपाल टेलिभिजनका दुई पत्रकारको समेत ज्यान गएको थियो ।