Tuesday, 26, October, 2021

पदाधिकारीको टुङ्गो लगाउन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । उक्त बैठक अहिले बिहान ११ बजे बस्ने पार्टीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुबारे टुङ्गो लाग्ने छ । बैठकले केन्द्रीय कमिटीको संख्या समेत तोक्ने बताइएको छ ।

महासचिवमा राजेन्द्र पाण्डे, डा वेदुराम भुसाल, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र डा विजय पौडेलले दाबी गरेका छन् । पार्टी संरचनालाई पूर्णता दिन मङ्गलबारदेखि केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

एकीकृत समाजवादीको स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । पार्टीले सातवटै प्रदेशमा इञ्चार्जसमेत तोकिसकेको छ ।

प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वाग्मतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा शाहलाई इञ्चार्ज बनाएको छ ।…