Tuesday, 26, October, 2021

“दोबाटो”

गद्य कविता

दोबाटो     
दुई
वा दुईभन्दा बढी
बाटाहरू
मिलेको ठाउँ
दोबाटो हो
तर
बाटाहरू
विद्याका
तर्कका
खोजका
राजनीतिका
व्यापारका
व्यवसायका
हत्या
र हिंसाका
सत्शिक्षा
र सत्सङ्गका
साहित्य
र सृजनाका
दर्शन
र दायित्वका
अनि प्रेम
र बिछोडका
दोबाटाहरू
गनी
र भनी साध्य छैनन्
राजतन्त्र
र प्रजातन्त्रको
दोबाटोमा
हरियो बत्ती
बिस्तारै
पहेलो बत्तीपछि
रातो बत्ती बल्दा
धैर्य गर्न सकेको भए
राजतन्त्रलाई
दोबाटो सहज
हुने थियो
तर धैर्यता गुमाएर
राजतज्त्रले
रातो बत्तीको
मर्यादा भङ्ग गर्यो
ट्राफिक कार्यवाहीमा पर्यो
थापाथलीको
दोबाटोमा

त्यही रातो बत्तीमा
दोबाटो क्रस गर्दा
नियम मिचेकै कारण
गिरिजा
प्रचण्ड मात्र होइन
पाखा लागे
केपी वली पनि
ट्राफिकले छाडेन

राजमार्ग निर्माण गरेर
शिक्षा
र स्वास्थ्यको
शान्ती
र सुरक्षाको
निर्माण
र विकासको
गतिलाई
गति दिइरहन
सहज बनाउन
पहेलोमा रोक्न
वा हिड्न
तयार रहने
रातोमा टक्क रोकिने
र हरियो अघि बढ्ने
नियमलाई
आत्मसात गर्नुपर्दछ
यसो गर्न
अभ्यस्त भए
सबैलाई
सहज हुन्थ्यो
दोबाटो
गन्तव्यमा सहज
सुरक्षित पुग्न
उपलव्धि प्राप्त गर्न
त्यसैले
लुटाहा
फटाहा
बेइमान नबनौँ
दोबाटाहरूमा
धैर्यसाथ कुरौँ
रातो बत्तीमा
राराजनीति
कुटनीति
हेरेर हरियो
बत्तीमा मात्र
अघि बढौँ
यही हो
शाश्वत
र सत्य नियम
पहेलो
रातो
र हरियो
बत्तीको
यसैबाट
दोबाटो सहज बन्छ
विना अवरोध
सफलतापूर्वक
गन्तव्यसम्म पुग्न
दोबाटोबाट
सहज हुन्छ
दोबाटो 

हरिभक्त सिग्देल ‘महेश’