Monday, 13, September, 2021

संसदको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ । संसदको गतिरोध अन्त्य गर्नका लागि आज सर्वदलीय बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा दलहरुको बैठक बस्न लागेको हो ।

दिउँसो साढे २ बजेका लागि सभामुखले संसद भवनको ल्होत्से हलमा बैठक डाकेका छन् । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई बैठकमा आमन्त्रण गरिएको छ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले सदर नगरेको विरोधमा नेकपा एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ। सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरुसँग समेत छलफल गरेका थिए।

छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद अवरोध कायमै राख्ने अडान लिएको थियो। त्यसपछि सापकोटाले बैठक बोलाएका हुन्।

एमालेले भदौ २३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको छ। संसदको अर्को बैठक भदौ २९ गते बस्ने तय भएको छ ।