Wednesday, 08, September, 2021

हरितालिका तीज

कविता                                                               हरिभक्त सिग्देल ” महेश “

भाद्र शुल्क द्वितीया र पञ्चमी सम्मका दिन
तीज भनी मनाइन्छ हिन्दूका घर अाँगन।
नारी पर्व छ यो राम्रो हिन्दु नारी जमातमा
द्वितीया दिनमै पर्छ खाँने हाे दर रातमा ।।

विवाहिता भए छोरी बसेका घरमा गई
बाेलाएर सँगै राखी मिठा भाेज सबै दिई।
मन्दिरमा पुगी राता वस्त्रले बनी सुन्दरी
घन्किदै मादलु गीत निकाली स्वर माधुरी!!

भाेगेका दुःखका गाना मिसाई घरका कुरा
गीतमा भाव पोखेर नाच्दै गाई पुरा पुरा।
चिरीच्याट्ट परी लाई गहना बनी सुन्दरी
कन्या हुन् अरु हुन् साथ नाचगान गरी गरी।।

निराहार बसे बढ्छ पतिकाे आयु ठान्दछन्
भए पाप सबै जान्छ भन्ने विश्वास मान्दछन्।
पूजा यी शिवको गर्दै रात,दिन र साँझमा
देवी कन्या बनाएर टीका लगाई रातमा।।

तीजकाे भाेलि वा पर्सि पर्ने हाे पञ्चमी तिथि
व्रत साथ गरी पूजा ऋषिका थानमा गई।
बिहानै नदी वा गङ्गा पुगेर वर्ष दिनकै
जम्मै दिन गनी स्नान त्यत्तिकै गर्नु पर्छ नै।।

मैनावारी छुवाछुत त्रुटि त्याे दत्तिओनले
दाँत माझी नुहाएर क्षमाका शब्दशानले।
प्रसङ्ग यसकै निम्ति विदर्भ देशमा कुनै
ब्रामण एकका पुत्र पुत्री एक थिए उनै।।

वेद पारङ्गता पुत्र सानै उमेरमा भयाे
विधवा ती भइन् पुत्री सानैमा वय चढ्दथ्याे।
पञ्चमी तीजकाे व्रत पहिले नगरी तिनी
पाप लागी भयाे यस्ताे सानैमा विधवा बनी।।

पञ्चमीको पूजा साथै तीज व्रत गराउँदा
सुख पाइन् पछि जम्मै साैभाग्यशील सर्वदा।
त्यसैबाट सकी पाप सुख सम्पन्नता भयाे
सुस्वास्थ्य अनि सौन्दर्य जिन्दगी सब फेरियाे।।

रजस्वला हुँदा नारी चाण्डाल्नी पहिलाे दिन
ब्रह्मघातिनी दोस्रोमा मान्यताका रहे छिन।
तेस्रोमा धोविनी बन्ने चाैथाेमा स्नानले गरी
यसै विश्वासले गर्दा कुप्रथा भो सधैँभरि।।

पञ्चमी दिनका तीन सय पैसठ्ठी दत्तिउन्
माटाे र पञ्चको गव्य काव्यका स्रोत भन्दछन्।
सप्तर्षिकाे गरी पूजा नुहाएर सफा भई
देवदेवी जपी थुप्रै एकाग्र चित्तमा गई।।

वशिष्ठ अत्री छन् जो जो विश्वामित्र र कश्यप
अहिल्याकाे गरी पूजा शृङ्गार साथ मिस्रित।
हिमालकी उता पुत्री पार्वती पर्दछिन् यतै
पाऊँ शिव पति भन्दै व्रतमा रत छिन् कतै।।

देख्दै शिव चढी साँढे सर्प र भष्म धारक
घुम्दै नारदका छेउ पुगे रे राजपर्वत ।
पार्वती पतिका लागि विष्णु नै उनी भन्दछन्
सखीले सम्झदै पीडा उनलाई लुकाइछिन्।।

शिवलिङ्ग बनाएर बालुवा पुज्दथिन् उनी
शिव दर्शन पाएर पार्वती अझ मख्खिइन्।
वर पाइन् तपस्याले पूर्ण भाे उनकाे मन
हर र अालिका साथी लुकाउने भए जन।।

हरित तालिका नाम तीजकाे यसरी भयाे
भाषा संस्कार यो धर्म वर्ष चलन बिग्रियाे।
अपभ्रंश भए सारा रीति कुरीति मिस्सिदा
तीज र दरमा ऐले परिवर्तन सम्झिदा।।

कुप्रथा कुरीति सारा मिल्काई फाल्नु पर्दछ
दत्तिओन र यो माटाे अागाेमा हाल्नु पर्दछ।
शिवकाे गर यो पूजा बसे बस सबै व्रत
अायु पति र पत्नीकाे बनोस् अग्लेर यो छत।।

घरका दुखमा चेली सुखी हुन् शुभकामना
माईती सँग होस् भेट व्रतको सत्य नाममा।
टुक्का अनेकका जाेडी नखसाल कतै तल
नारीकाे गर सम्मान र मातृशक्तिकाे बल।।

हरित तालिका तीज वर्णन सम्ममा पनि
भनियाे सुनियाे सत्य निष्ठामा बस्नु पर्छ नि।
देवताकाे पूजा पाठ व्रत गर्न नभ्याँउने
सम्झना मात्रले पूर्ण हुन्छ जम्म स्वकर्मले।।

हरिभक्त सिग्देल ” महेश “