Sunday, 05, September, 2021

बोटक्सको प्रयोगकर्ता बढेका छन् : डा.ललन खतिवडा

डा. ललन खतिवडा, छाला तथा सौन्दर्य विशेषज्ञ, नेपाल स्किन हस्पिटल, नयाँ बानेश्वर

बोटक्स के हो ?

बोटक्स भनेको चाउरीपना हटाउने एक प्रकारको सुई हो । यसको प्रयोगले एक हप्तामै चाउरीपना हटाएर छालामा चमक ल्याउन मद्दत गर्छ । बोटक्स १८ वर्षभन्दा माथिका व्यक्तिले प्रयोग गर्न सकिन्छ । अहिले बोटक्स सुन्दरताको निम्ति प्रायः मानिसले चाडपर्व अगाडि, विवाह भोज हुँदा लगाउने गर्छन् ।
महिला वा पुरुष कसले लगाउन सक्छन् बोटक्स ?
बोटक्स महिला पुरुष दुवैले लगाउन मिल्छ । पुरुषभन्दा महिलामा अलि चाँडो चाउरीपना देखापर्छ । जसको कारण महिलाले पुरुषको भन्दा कम उमेरमा उपचार सुरु गर्छन् । सामान्यतः १८ देखि ७० वर्षसम्मका महिलाले छालाको उपचार गर्न आउँछन् भने २५ देखि ६० वर्षसम्मका पुरुष छालाको छाउरीपना हटाउन तथा उपचार गर्न आउँछन् । नेपाल स्किन हस्पिटलमा मात्रै दिनमा १५ देखि २० जना बोटक्स लगाउन आउँछन् ।

बोटक्स अनुहारको कुन कुन भागमा लगाईन्छ ?

बोटक्सले छालालाई कसिलो देखाउँन मद्दत गर्दछ । बढ्दो उमेरसँगै यो तत्व कम हुँदै जाने भएकाले छालामा चाउरी देखिन थाल्छन्। आँखाको कोस र निधारको छालामा चाउरी बढी पर्ने हुन्छ । जुन भागको छाला बढी खुम्चने वा तन्कने हुन्छ, त्यही भागको छालामा बढी चाउरी पर्ने भएकाले त्यस्तो भागमा बोटक्सको प्रयोग गर्न सकिन्छ ।

बोटक्स उपचार कहाँ गरिन्छ ?

नेपालमा बोटक्स विशेषज्ञ थोरै मात्र छन् । च्याउ जसरी खुलेका निजि क्लिनिकहरुले बोटक्सको विज्ञापन गरेपनि विशेषज्ञ चिकित्सकले मात्र सहि तरिकाले अनुहारको कुन भागमा आवश्यक छ र कसरी लगाउने भन्ने बारे बुझेका हुन्छन् । त्यसैले बोटक्सको उपचार गर्ने सौन्दर्य विशेषज्ञले मात्र विशेष किसिमको तालिम प्राप्त गरिसकेपछि बोटक्स लगाउने उपचार गर्न योग्य हुन्छन् । त्यसैले बोटक्स लगाउँदा पनि विशेषज्ञको परामर्शमा लगाउन म सुझाव दिन्छु ।

बोटक्स लगाउँदा कति समय लाग्छ ?

यसलाई धेरै समय खर्चिनुपर्दैन । यो १० मिनेटको प्रक्रिया हो । अलिअलि वा अत्यधिक चाउरी परेको छालामा यसले ५ देखि ७ मिनेटभित्र नै सजिलै देख्न सकिने सुधार ल्याउँछ । ३ देखि ७ दिनमा यसको नतिजा देख्न सक्छौं । एक पटक बोटक्स लगाइसकेपछि ४ देखि ६ महिनासम्म यसले काम गर्छ । त्यसपछि पहिलाकै अवस्थामा फर्कन्छ । तर यसले छालालाई चाउरीनबाट जोगाउँछ ।

बोटक्स गर्ने तरिका ?

बोटक्स गर्दा सुरुमा अुनहारलाई सफा गरिन्छ । त्यसपछि अल्कोहल स्वाबले मुख सफा गरिन्छ । त्यसपछि आइस प्याक लगाइन्छ । अनि चाउरी परेको ठाउँमा सुई लगाई मांशपेशीलाई तन्काइन्छ । जहाँ जहाँ चाउरीपन छ त्यहीँ त्यहीँ सुई लगाइन्छ । ३० जिको निडल सुईको प्रयोग गरिन्छ । जुन संसारको सबैभन्दा पातलो सुई हो । यसकारणले यो लगाउँदा त्यति पिडा महसुस हुँदैन ।

बोटक्स लगाइसकेपछि ध्यान दिनुपर्ने कुराहरु

बोटक्स लगाउनु पनि छाला सम्बन्धि गरिने एक किसिमको उपचार नै हो । त्यसैले बोटक्स लगाइसकेपछि लापरबाही गर्न हुँदैन । लगाएको ४ घण्टासम्म सुत्नु हुँदैन । त्यस्तै कम्तीमा एकदुई दिनसम्म आफूले गर्ने नियमित व्यायाम, साउना बाथ जस्ता कसरत पनि गर्नु हुँदैन । साथै पौडिन जाने जस्ता क्रियाकलापलाई पनि दुईदिनसम्म निषेध नै गर्नुपर्छ । किनकी बोटक्स भनेको औषधी हो । यी कार्य गर्नाले लगाएको औषधी एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ । दुईदिन पछाडि आफूले गर्ने क्रियाकलाप आरामले गर्न सकिन्छ । त्यस्तै फेसियल, क्लिङजिङलाई पनि नियमित रूपमा गर्न सकिन्छ । जीवनशैलीमा पनि ध्यान दिनुपर्ने हुन्छ । चुरोट, रक्सीआदि सेवन गर्नाले ४ महिनाभन्दा बढि यसले काम गर्दैन । बोटक्सको टिकाउ छालाको हेरचाहमा भर पर्छ । बोटक्स लगाउन छाडेपछि पनि छालामा कुनै किसिमको समस्या आउँदैन । बोटक्स गर्नुअघि छाला पहिला जस्तो थियो त्यस्तै अवस्थामा फर्कन्छ । बरु यसले थप छाला चाउरीनबाट भने बचाउँछ ।