Tuesday, 17, August, 2021

धेरैले दाँत माझ्ने तरिका जान्दैनन् – डा.सुवास घिमिरेका यी टिप्स

काठमाडौं, वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले नेपालीहरुमध्ये करिब ९० प्रतिशतले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन् । उपचारका लागि आएकाहरूको अवस्था हेर्दा दाँत सहि तरिकाले माझ्न नजानेर आएका समस्या धेरै देखिएको उनले बताए ।

डा.घिमिरेका अनुसार बालबालिकामा करिब ९० प्रतिशत र वयस्कमा करिब ६० प्रतिशतसम्म दाँत किराले खाने समस्याको एउटा प्रमुख कारण सही तरिकाले दाँत नमाझ्नु हो । यति मात्र नभई दाँतसम्बन्धी समस्याले नेपालीको औसत आयुमा समेत असर पारिरहेको छ ।

ओरल म्याक्जिलोफेसियल सर्जन डा. घिमिरे दाँतलाई सफा गर्ने विधिमा मानिसहरुले खासै ध्यान नदिएको बताउँछन् । ‘सर्वसाधारण, पढेलेखेका, विशेषज्ञ मात्र नभई चिकित्सकहरूलाई समेत उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन । कुन टुथपेस्ट, कस्तो ब्रस प्रयोग गर्ने आदिबारे सोधेपनि ’बहुसंख्यक नेपालीले दन्त चिकित्सक नजिक पुग्दा दाँत माझ्ने विधिबारे सोध्ने गरेका छैनन् ।

दाँतलाई राम्ररी माझा कुल्ला, डेन्टल फ्लस आदि गर्दा करिब ६० प्रतिशत दाँतसम्बन्धी रोग हुनबाट जोगिन सक्ने डा. घिमिरे बताउँछन् । बिहान खाना खाएपछि र राति खाएर सुत्ने बेला गरी कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । एउटै ब्रस धेरै समयसम्म प्रयोग गर्नु उपयुक्त हुँदैन । दाँत माझदा फ्लोराइड भएको टुथपेस्ट उपयोग गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

दिनहुँ न्यूनतम दुईदेखि तीन मिनेटसम्म ब्रस गर्नुपर्छ भने ब्रस गरेपछि जिब्रो सफा गर्न भने बिर्सनु हुँदैन । यसले मुखमा भएका किटाणुहरूको संख्यालाई कम गर्छ । ब्रसमा समेत ध्यान दिनुपर्छ । सामान्यतया धेरै कडा वा बढी नरम ब्रस उपयोग नगर्ने सल्लाह डा.घिमिरेको छ । कडा ब्रसले दाँत खिइने र नरम ब्रसले दाँत राम्ररी सफा नहुने हुँदा सामान्य व्यक्तिले न नरम, न कडा अर्थात् मध्यम लचकता भएको ब्रस उपयोग गर्नुपर्छ । मुखमा अनुकूल हुने हिसाबको ब्रस उपयोग गर्नुपर्छ । ब्रस गर्दा दाँत र गिजालाई न घोचिने गरी माझ्नुपर्छ ।

सबैभन्दा पहिले ब्रसलाई माथिल्लो दाँतअन्तर्गत गिजाको माथिल्लो भाग राखेर तल दाँततिर आउन दिने । यही प्रक्रिया दोहोर्‍याउने । यसले गिजामा रक्तसञ्चार हुनुका साथै दाँतलाई समेत बलियो बनाउँछ । यसपछि तल्लो दाँतअन्तर्गत तलको गिजाबाट ब्रसलाई माथि दाँतसम्म लिएर जाने । ब्रस तलमाथि गर्नु हुँदैन । दाँतको भित्री भागमा समेत यसैगरी सफा गर्नुपर्ने जनाउँदै डा.घिमिरे टोक्ने भागमा पनि ब्रसले अगाडि र पछाडि गरेर सफा गर्नुपर्ने उल्लेख गर्छन् ।