Thursday, 22, July, 2021

कालीगण्डकी डाइभर्सनको विषयमा न्यायाधीशको राय बाझियो

काठमाडौँ । कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना रोक्न अन्तरिम आदेश भइसकको अवस्थामा त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा संयुक्त इजलासमा राय बाझिएको छ।

असार २९ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै कालीगण्डकी डाइभर्सनको निर्माण रोक्न अन्तरिम आदेश दिएको थियो।

सोमबार त्यही विषयमा अधिवक्ता तुलसीराम पोखरेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दा न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको इजलासमा राय बाझिएको हो।

राउतले एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने राय दिएका छन् भने फुयालले निर्माणका कार्य सुरु नभइसकेको, डिपिआर मात्रै तयार भएको र परियोजनासँग सम्बन्धित अरु अध्ययन बाँकी नै रहेको सन्र्दभमा अन्तरिम आदेश जारी गर्नु नपर्ने मत दिएका छन्।

संयुक्त इजलासमा राय बाझिएपछि अब उक्त विषय पूर्ण इजलासमा पेश हुन सर्वोच्च अदालतले जनाएको छ।