Friday, 09, July, 2021

इलाममा कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

इलाम । कोरोना भाइरसको सङ्क्रमणबाट इलाममा श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ।

माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमाको मृत्यु भएको हो।

टेकबहादुरको बिहीबार बिहान र लक्षीहाङमाको दिउँसो मृत्यु भएको हो। लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
एकै परिवारका दुईको निधन भएपछि गाउँमा त्रास फैलिएको छ। उनीहरुमा छ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमित सबै जना होमआइसोलेशनमा थिए। दुई छोरा, एक बुहारी र दुई नाति हाल होमआइसोलेशनमा छन् ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ। सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् । ५२ जनाको निधन भएको छ भने ३७१ सङ्क्रमित उपचाररत छन् ।