Saturday, 10, July, 2021

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर (एलेक्स) शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना टोकियोतर्फ लागेका हुन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।

सिंह र शाहले आउँदो साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।