Sunday, 11, July, 2021

सप्तकोसीमा पानीको बहाव उच्च, भारतले सबै ढोका नखोल्दा स्थानियमा त्रास

धरान, सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च हुँदा कोसी आसपासका क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।

हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार बिहान ९ सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख २१ हजार ४७५ क्युसेक पुगेको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण डर र त्रासमा बसेका छन् ।
पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २९ वटा मात्र ढोका खोलेको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीले ४० ढोका खोल्न अनुरोध गर्दा समेत भारतले ढोका खोल्न नमानेको बताइएको छ। सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ती डुवानमा पर्ने त्रास बढेको स्थानीयले बताएका छन्।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदासमेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्बसाधारण त्रसित भएको कोसी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए। उनले पानीको बहाव उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोलेर सर्वसाधारणलाई र्निर्धक्कका साथ रात बिताउन व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको महेन्द्रनगर, प्रकासपुर, राजाबास, मधुवन, र हरिपुर क्षेत्रका सर्वसाधारण त्रसित बनेको कार्कीको भनाई छ।

२०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो। कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकही गाविसमा हजारौं विघा खेतियोग्य जमिन भरुभुमि बनाउनुका साथै ५ हजारभन्दा बढी घर परिवारको उठिबास बनाएको थियो । सोहि स्थिती नआओस् भने स्थानियले भारत सरकारसंग सबै ढोका खोलिदिन पहल गर्न माग गरेका छन् ।