Saturday, 10, July, 2021

अफगानिस्तानको हवाई अड्डाबाट अमेरिकी र नेटो सैनिक फिर्ता

एजेन्सी । अफगानिस्तानमा रहेको अमेरिकी तथा नेटो सेनाको महत्वपूर्ण बेस क्याम्पबाट सैनिकहरुको अन्तिम टोली फिर्ता भएको छ ।

दुई दशकसम्म बिद्रोहीविरुद्धको युद्धको महत्वपूर्ण केन्द्रका रुपमा रहँदै आएको बाग्राम हवाई अड्डाबाट सैनिकको टोली फिर्ता भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा फिर्ता भइसक्ने बताएका छन् ।

काबुलको उत्तरी क्षेत्रमा रहेको महत्वपूर्ण बेस क्याम्पबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम टोली फिर्ता भएको छ ।

तालिबान बिद्रोहीले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्ना गतिविधि सक्रिय पार्दै लगेका बेला विदेशी सैनिक फिर्ता भएका हुन् । यसले युद्धको जोखिम बढेको भन्दै संयुक्त राष्ट्रसंघसले चिन्ता व्यक्त गर्दै आएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा झण्डै तीन हजार मानिसको ज्यान जाने गरि अमेरिकामा भएको आतंकवादी आक्रमणको वर्षगाँठ पारेर सैनिक फिर्ताको सीमा तय भएको छ ।

अल कायदाले गरेको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा युद्ध थालेको थियो । अमेरिकाले आफ्नो इतिहासकै लामो युद्ध अन्त्यको घोषणा गरेको छ । मानवीय तथा ठूलो आर्थिक क्षति अमेरिकाले अफगान युद्धमा बेहोरेको छ ।