Saturday, 10, July, 2021

तत्काल खोप आयात गर्न नेपाल भारत मैत्री संघको आग्रह

काठमाडौं , भारतबाट ल्याईने भनिएको कोरोनाविरुद्धको १० लाख डोज कोरोना भ्याक्सिन छिटोभन्दा छिटो नेपाल ल्याउन नेपाल सरकारलाई नेपाल भारत मैत्री संघले आग्रह गरेको छ ।

नेपाल भारत मैत्रीसंघ प्रदेश नं १ ले आयोजना गरेको कोभिड १९ दोस्रो चरणको लहरसँगै क्यान्सर विरुद्ध सचेतनामूलक भर्चुअल कार्यक्रममा संघले खरिद प्रक्रियामा रोकिएको १० लाख डोज कोरोना भ्याक्सिन छिटोभन्दा छिटो नेपाल ल्याउन नेपाल सरकारसंग अनुरोध गरेको नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष ओम सरावगीले जानकारी दिए ।

कार्यक्रममा नेपाल भारत मैत्रीसंघका प्रदेश नं.१ का अध्यक्ष ईश्वर श्रेष्ठले क्यान्सर उपचारमा प्रयोग भएको कोभाल्ड ६० पुरानो भएर थन्किएको अवस्थामा यसबाट आउने विकरणले पार्ने असरबारे जानकारी दिँदै यसको उचित व्यवस्थापनका लागि सरकारसंग माग गरेका छन् । उनले यस्ता प्रयोगमा नआएका रेडीयोथेरापी मेसिनहरु चीतवन भरतपुर क्यान्सर अस्पताल, बीर अस्पताल, भक्तपुर अस्पतालमा थन्किएर रहेका छन् , जसको छिटोभन्दा छिटो व्यवस्थापन गरि जोखिम न्यूनिकरण गर्नु आवश्यक रहेको उनले बताए । त्यसैगरि अध्यक्ष श्रेष्ठले खरिद प्रक्रियामा रोकिएको १० लाख डोज कोरोना भ्याक्सिनको आयातमा सहजिकरणका लागि पहल गर्नुपर्ने बताउदै सरकारले जनताको जीवन बचाउने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ तथा सर्जरी अंकोलेजी सोसाइटी नेपालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले कोरोना र क्यान्सरबाट जोगिने उपायबारे जानकारी दिएका थिए । उनले सबैजसो रोग खानपान, रहनसहन र शारीरिक व्यायामबाटै नियन्त्रण गर्न सकिने बताए ।

अहिलेको सन्दर्भमा माक्स अनिवार्य लगाउने, भीडभाडबाट जोगिने काम व्यक्त आफैंले गर्नुपर्ने बताउँदै सरकारले लकडाउन भन्दा पनि दीर्घकालिन समाधानका लागि खोप खरिद प्रक्रियामा लाग्न ढिला गर्न नहुने सुझाव दिए। रोग लागिहाले पनि डराउनु नपर्ने र यसका उपचार विधिहरु भएको बताउँदै कोरोना संक्रमितलाई सताउने अर्को समस्या ब्ल्याक फङ्गल्स (कालो ढुसी) इम्युनिटी पावर कम भएका बिरामीहरुलाई देखिने भएकाले यसबाट बच्न आफ्नो इम्युन सिस्टम मजबुद बनाउन उनले सुझाब दिए ।

भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टरसमेत रहेका डा. न्युपानेको भक्तपुर क्यान्सर अस्पतालमा सर्जरी डिपार्डमेन्ट सञ्चालन गर्नमा स्व.डा.अन्जनि शर्मा पछी ठुलो योगदान छ ।

भर्चुल कार्यक्रममा नेपाल भारत मैत्री संघका सल्लाहकार केशव अधिकारी, चक्रमान श्रेष्ठ, विशिष्ट सल्लाहकार रतनकुमार तण्डन, केद्रिय सदस्य बरिष्ट इञ्जिनियर इन्द्रानन्द शाह र ज्योति न्यौपानेका साथै देशभरका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, जिल्ला शाखा, उपशाखाका पदाधिकारी तथा आजिवन सदस्यहरुको सहभागिता रहेको थियो ।

संघका केन्द्रिय अध्यक्ष सरावगीले अहिलेको समसामयिक विषयमा विज्ञहरुको जमघट गराएर कार्यक्रम आयोजना गरेकोमा प्रदेश नं १ को प्रसंसा गरेका थिए ।