Wednesday, 09, June, 2021

नेपालमा नयाँ भेरियन्ट छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ,  बेलायती मिडियाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको भन्दै सम्प्रेषण गरेका समाचारको नेपाल सरकारले खण्डन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता निराधार समाचार नफैलाइदिन तथा जिम्मेवार बनिदिन अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट डेल्टा नामको हो । उक्त भेरियन्टलाई वैज्ञानिक भाषामा बी.१.६१७.२ नाम दिइएको छ ।

जुन भेरियन्ट पछिल्लो पटक भारतबाटै फेलिएको हो । र यसवाहेक नेपालमा कुनै पनि नयाँ भेरियन्ट नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायती मिडिया डेली मेल बीबीसी लगायतले नेपालमा नयाँ भेरियन्ट भेटिएको र यो बेलायतमा नयाँ खतराको रुपमा देखिएको आशयका समाचार सम्प्रेषण गरेका थिए ।

यस्ता समाचार आएलगत्तै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यस्ता समाचारप्रति आपत्ती जनाएको हो । यसवाहेक विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा नयाँ भेरियन्ट भेटिएको कुरा जनाएको छैन ।