Wednesday, 09, June, 2021

तीन दिन अत्यधिक वर्षा हुने, बाढी र पहिरोको खतरा

काठमाडौँ । आजदेखि शनिबारसम्म देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा हुने सम्भावना छ ।

वर्षासँगै बाढी र पहिरोको खतरा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।

सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ ।