Monday, 04, July, 2022

नेपालका नेताहरु विदेशीको दलाल भएकोमा माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीको आपत्ति

काठमाडौं । राष्ट्रपतिबाट हालै जारी गरिएको नागरिकता अध्यादेश फिर्ता लिन नेकपा (माओवादी केन्द्र) ले माग गरेको छ । पार्टीका अध्यक्ष कर्णजीत बुढाथोकीद्धारा आज प्रकाशित विज्ञप्तीमा अध्यादेशले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डतामाथि ठाडो प्रहार गरेको जनाइएको छ ।

नेपालमा राजनीतिक संकट र प्राकृत्तिक विपत्ती परेका बेला वैदेशिक शक्तिहरुले नेपालमाथि विभिन्न समयमा राष्ट्रघात हुने काम गरिरहेकाले त्यसबाट सचेत हुन पनि पार्टीले आग्रह गरेको छ । नेपालका राजनीतिक दलका नेताहरु विदेशीको एजेण्ट भएकोमा समेत उनले आपत्ति जनाएका छन् । जनमतको दुरुपयोग गरी प्रधानमन्त्री ओली प्रतिगमनको बाटोमा हिँडेकाले उनी सरकारमा रहनु र नरहनुको कुनै अर्थ नहुने पार्टीको दाबी छ ।

कोरोना संकटले मानिसको अर्थतन्त्र, जीवनशैली र मनोविज्ञानमा ठूलो संकट निम्तिइरहेको बेला सरकार र दलहरु राजनीतिको फोहोरी खेलमा लागेकाले संकट झन् बढ्दै गएको पार्टीले ठहर गरेको छ । पार्टीले जनताको सरोकारको सवालहरुलाई अग्रगामी निकास दिन राजनैतिक जन–परामर्श सम्मेलनमा गोलवद्ध हुन सरकार, सबै राजनीतिक दल, नागरिक समाज र अन्यलाई आग्रह पनि गरेको छ ।