Thursday, 10, June, 2021

म्यानमामा सैनिक सरकारद्वारा एक लाख २५ हजार शिक्षक निलम्बन

एजेन्सी । म्यानमाको सैनिक सरकारले सैन्य कूलाई समर्थन नगर्ने १ लाख २५ हजार शिक्षकलाई निलम्बन गरेको छ।

सैनिक सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो । शैक्षिक सत्र सुरु हुनुभन्दा केही दिनअघि मात्र सैन्य सरकारले शिक्षकहरूलाई निलम्बन गरेको हो।

केही शिक्षक तथा अभिभावकले भने सैन्य  कूले देशलाई पछाडि धकेलेको भन्दै विद्यालय बहिष्कार गरेका थिए । म्यानमारका विद्यालयमा ४ लाख ३० हजारभन्दा बढी शिक्षक रहेका छन् । काममा फर्किउन् भनेर चेतावनीका रूपमा शिक्षक निलम्बन गरिएको हुनसक्ने बताइएको छ।

विद्यालय तहका शिक्षकका साथै झन्डै १९ हजार ५ सय विश्वविद्यालयका कर्मचारीहरूलाई समेत निलम्बन गरिएको छ । म्यानमामा नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि धेरैजसो अभिभावकहरू बालबालिकालाई विद्यालय पठाउन तयार छैनन्।