Wednesday, 09, June, 2021

कोरोना भाइरस विरुद्धको खोप गाउँमै लगाउन पाउने

काठमाडौँ । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेका व्यक्तिले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन् ।

विभिन्न कारणले काठमाडौँ उपत्यका बाहिर गएकालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो पालिकाका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन सक्ने छन् । लगत तयार भएपछि छिटै प्रदेशको समन्वयमा खोप लगाउने मिति र ठाउँ तोकिनेछ ।

उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा जेठ २ गतेदेखि दोस्रो मात्राको खोप सञ्चालन भइरहेको छ । काठमाडौँमा भेरोसेलको पहिलो खोप लगाएका धेरैजना निषेधाज्ञा भएपछि गाउँ फर्किएका छन् । खोपकै लागि उनीहरु आउन नसक्ने भएकाले गाउँमै व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज समयमै पाउनेमा आशङ्का बढेको छ । फागुनको अन्तिम हप्ता हिमाली जिल्लाका ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लाका ६५ वर्षभन्दा माथिकालाई पहिलो खोप लगाइएको थियो । पहिलो खोप लगाएकालाई १२ हप्ताभित्र लगाउनुपर्ने भनिए पनि त्यो अवधि सकिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेलले १६ हप्तासम्म पनि दोस्रो मात्रा लगाउन मिल्ने भएकाले ज्येष्ठ नागरिकका लागि छिटै खोप लगाउने तयारी भइरहेको बताए ।