Thursday, 10, June, 2021

राष्ट्रियसभाको उपनिर्वाचनको परिणाम आजै आउने

काठमाडौँ । राष्ट्रियसभामा रिक्त सिटका लागि आज बागमती प्रदेशमा उपनिर्वाचनअन्तर्गत मतदान हुँदैछ । प्रदेशको अन्य समूहतर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो ।

मतदान बिहान ९ बजेपछि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको समर्थन पाएका एमालेका नेता माधव नेपाल समूहका खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

थापा र देवकोटा दुवै एमालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको पक्षमा मत हाल्न चेतावनीसहितको अपील गरेका थिए । थापाको चुनाव चिह्न सूर्य हो भने देवकोटाको कलम हो ।

देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादीको साथ छ । यसअघि एमालेका नेता नेपाल पक्षले देवकोटालाई सघाउने बताए पनि नेपाल र ओलीबिचको सहमति भएपछि अन्योल भएको छ । नेपालले आफू पक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न भनेका छन् ।

उपनिर्वाचनमा बागमतीका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशसभा सदस्य ११० छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता छन् । कुल मतदाता संख्या ३४८ रहेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई मतदान केन्द्र तोकिएको छ ।