Thursday, 10, June, 2021

आचारसंहिता उल्लंघन गरेका ओलीलाई कारवाही गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका छन्।

प्रचण्डले ओलीमाथि कारवाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेका हुन् । ओलीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई आह्वान गर्नुका साथै मत नदिनेलाई धम्की समेत दिएको भन्दै कारबाहीका लागि प्रचण्डले निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।

प्रचण्डको सचिवालयले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु । यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?’

प्रधानमन्त्री ओलीले आज नेकपा एमालेका मतदाताला आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी धम्कीपूर्ण विज्ञप्ति निकालेका थिए ।