Thursday, 10, June, 2021

काठमाडौँमा २२१ आईसीयू बेड खाली रहेको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा २२१ आइसियु बेड र ६९ भेन्टिलेटर खाली रहेको जनाएको छ ।

कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि ठूलो संख्यामा बेड खाली रहेको मन्त्रालयको दाबी छ ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खालि नै रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १९ अस्पतालमा ७५० आइसोलेसन बेड खाली छन्। १९ वटा अस्पतालमा आइसोलेसन बेडको कुल क्षमता २ हजार ३८६ रहेकामा १ हजार ६३६ बिरामीको उपचार भइरहेको छ। यस्तै ४६४ आईसीयू बेड रहेकामा २४३ बिरामी भर्ना छन्। भेन्टिलेटरमा १३३ बिरामीको उपचार भइरहेको छ। यी अस्पतालमा २०२ भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल (एपीएफ)को बलम्बुस्थित अस्पतालमा ९ आइसोलेसन र ९ आईसीयू बेड खाली छन्। वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै वीर अस्पतालमा सबै खालका बेड उपलब्ध छन् । नेपाल प्रहरी अस्पतालमा ९३ आईसीयू बेड तथा आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन् ।