Wednesday, 09, June, 2021

अक्सिजन अभाव कम हुने सरकारको दाबी

काठमाडौँ । अक्सिजनको अभाव एक दुई दिनमै कम हुने सरकराले दाबी गरेको छ । आपूर्ति बढेको र वितरण व्यवस्थित हुन थालेका कारण अब अक्सिजन अभाव नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भइरहेको बताए । यसैबीच ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट शनिबार अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज अक्सिजन सिलिण्डर लिन शनिबार राति नै चीनको राजधानी बेइजिङ गएको छ । चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी छ ।

वाइड बडी जहाजले लगातार चार दिनसम्म बेइजिङबाट दैनिक ५५० सिलिण्डर ल्याउनेछ । यस्तै नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न ठाउँबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको छ ।

नेपाल आयाल निगमले तरल अक्सिजन आयात गर्ने तयारी गरेको छ । भारतबाट तरल अक्सिजन ल्याउनका लागि इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरिएको निगमले जनाएको छ ।