Wednesday, 09, June, 2021

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, ३१ वैशाख  । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो । सो संख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको संख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो संख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर ६ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

सक्रिय सङ्क्रमितको संख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ सङ्क्रमितको आइसियुमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् ।

काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आइसियुमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको संख्या २५४ रहेको थियो । सो संख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

वैशाखमा कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाए

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ जनाको मृत्यु भएकामा आज सो संख्या बढेर चार हजार ६६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।