Tuesday, 08, June, 2021

आफू मेरेको छैन भनेर प्रमाण पेश गर्नुपर्ने कस्तो विवशता: रश्मी भट्ट

अस्मिता केसी । पोहोरसाल जस्तै यसवर्ष पनि लकडाउनका कारण मातातीर्तथ औँसीमा घरमा आमासँगै रहने सौभाग्य मिल्यो । हुन त सन्तानका लागि मातातीर्थ औँसी चाहिँदैन्, आमा सधैँ स्पेसल हुनुहुन्छ हाम्रोलागि तरपनि यो दिनको महत्त्वलाई म नकार्न सक्तिनँ ।

आमाले हाम्रो लागि गरेका विगतदेखी वर्तमानसम्म गरेका संघर्षहरु केलाउँदा ‘कविता’ लेख्न मन लाग्यो लेखेँ । फेसबुकमा राखेँ । केही मिडियाले त्यही कपी गरेर प्रकाशन गरेको रहेछ । सेयर गर्दै बसेँ ।

फेसबुकमा आमाका थरीथरीका अनुहार र थरीथरीका शब्द थिए आमाको लागि । चिनेका जति आमालाई कमेन्ट्मा वीस गर्दै थिए । मोबाइल स्क्रोल गरिरहँदा एक्कासि देखेको दृश्य र शब्दले स्तब्ध बनायो ।

‘शब्द’ नामको फेसबुक पेजले एउटा न्युज सेयर गरेको थियो । newsnepaldainik.com नामक अनलाइन न्युज पोर्टलमा सार्वजनिक गरिएको सो समाचारको हेडलाईन थियो,’आज आमाको मुखहेर्ने दिन, रश्मी भट्टको निधन’ । त्यसको फिचर फोटोमा कलाकार भट्टको एक म्युजिक भिडियोमा अभिनय गरेको तस्बिर राखिएको थियो ।

लामो समयदेखि प्रायःचलचित्रमा आमाको अभिनय गर्ने वरिष्ठ अभिनेत्री तथा कलाकार रश्मी भट्ट सबैको प्रिय कलाकार हुनुहुन्छ । मेरो झनै प्रिय कलाकार उहाँ । उसै त प्रिय कलाकार त्यसमाथि पनि आमाको मुख हेर्ने दिन मलाई खबरले एकदमै दु:खी बनायो तर म हेडलाईन मात्रैले विश्वास गर्न सकिनँ समाचार पुरौ खोलेर हेरेँ । पढ्दै जाँदा न्युजमा सत्यता भेटिनँ । एउटा म्युजिक भिडियोको अभिनयलाई बढावा दिएर तयार पारिएको सो समाचारको वास्तविकताले खुसी लाग्यो उहाँको निधन भएको रहेनछ तर समाचार सम्पादन गर्ने ‘न्युजनेपालदैनिक’ र सेयर गर्ने ‘शब्द’ नामक पेजलाई केही भन्न मन लाग्यो र कमेन्ट् गरेँ । पछि हेर्दै जाँदा उहाँको निधनको खबरबारे राखिएको समाचारले समाजिक सञ्जाल रंगिन थियो ।

कलाकार भट्टकै फेसबुक प्रोफाइलमा गएर हेरेँ । म ज्युँदै छु भन्ने प्रमाण पेशगर्न लाइभमा आउनुभएको रहेछ । झन नरमाइलो लाग्यो । कसैले आफ्नो व्यक्तिगत फाइदाको लागि ज्युदो मान्छेपनि मरेको समाचार सम्पादन गर्छ र त्यसको प्रमाण निर्दोषले नै पेश गर्नुपर्छ । कस्तो अचम्म!

अनलाइन मिडियाहरुको संख्या बढेसँगै यस्तो विकृति पनि तीब्र गतिमा बढेको छ । भ्युजको आशमा अनेकन हेडलाईन राखेर समाचार सम्पादन गर्ने मिडियाको होडबाजी छ यसबेला । मलाई लाग्छ उचित मिडिया नीति नभएसम्म विकृतिले झनेै विकराल रुप लिन सक्नेछ ।

अत: सोही प्रसंगमा मलाई कलाकार भट्टसँग नै कुरा गर्न मन लाग्यो । उहाँसँगको कुराकानीमा उहाँले भन्नुभयो ,’ खबरले एकदमै स्तब्ध बनायो , म मरेको छैन् भनेर दर्शक समक्ष प्रस्तुत हुँदा झन नरमाइलो लाग्यो । कलाकार संघ र प्रेश काउन्सिलमा उजुरी गरेकी छु । न्याय पाउने आशामा छु । यसकै आधारमा साइबरमा पनि रिपोर्ट गर्ने छु ।’

दर्शक र पाठक भन्दा ज्यादा भएका यी मिडियाको कारण बेला बेलामा आउने यस्ता अवास्तविक र अमर्यादित समाचारले हरेक क्षेत्रमा परिरहेको असरबारे सम्बन्धि सबैको ध्यान जाओस् । धन्यवाद !