Thursday, 10, June, 2021

लुकाइएका अक्सिजन खोज्दै समाजसेवी ताराबहादुर कुँवर

काठमाडौं । वाफल काठमाडौंका समाजसेवी तारबहादुर कुँवर अहिले लुकाइएका अस्किजन सिलिण्डर खोज्दै हिँडेका छन् । कोरोना संक्रमितले अक्सिजनको अभावमा अकालमै ज्यान गुमाउनु परेपछि कुँवरले यस्तो अभियान चलाएका हुन् ।

‘धेरै ठाउँमा अक्सिजन सिलिण्डर लुकाइएको छ, कहाँकहाँ कसरी लुकाइएको छ भन्ने मलाई थाहा छ त्यसैले खोजी अभियानमा लागेको छु’ उनले भने ‘एउटा अक्सिजन सिलण्डिर पाउँदा कसैको ज्यान बचाउन सकिन्छ भने म किन पछि पर्ने ? उनले वाफल वरिपरिका विभिन्न ठाउँमा अक्सिजन सिलिण्डर भएको भन्दै सम्वन्धित निकायलाई पनि खवर गरिसकेका छन् । उनले संकलित अक्सिजन सिलिण्डर विभिन्न अस्पताल, प्रहरी कार्यालय, सरोकारवालाका साथै अभाव भएका व्यक्तिलाई उपलव्ध गराउने स्पष्ट पारेका छन् । उनले संकलन गरेका अक्सिजन सिलिण्डर जनमैत्री अस्पताल बालाजुका सञ्चालकसमेत रहेका पत्रकार रवि लामिछानेलाई ३२ थान अक्सिजन सिलिण्डर दिएका छन् ।

‘अझै पनि सिलिण्डर खोज्दैछु, पाएसम्म भेला गरेर कोरोना संक्रमितको लागि सहयोग गर्छु’ उनले भने ‘केही अस्पताल र व्यक्तिले पनि चाहियो भनेर मागिरहेका छन्, अवस्था हेरेर दिनुपर्ला ।’ केही दिनअघि ओमकार टेलिभिजनको अन्तरवार्तामा उनले अक्सिजन सिलिण्डर खोज्ने प्रतिबद्धता जनाएका थिए । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता, हजुरलाई नमस्ते परोपकारी संस्थाका अध्यक्ष समेत रहेका कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत स्वरुप १७ सय जनालाई चामल, दाल, नुन, तेललगायतका सामग्री बाँडे । उनले बीचमा केही समय स्थगित गरेको भने पनि दुःखी पीडितहरुको आवाज सुनेपछि फेरि निरन्तरता दिए ।

कोरोनाको अहिलेको अवस्था खतरनाक रहेको भन्दै उनले अहिले नै हिजोको जस्तो गरी राहत नबाँड्ने जनाएका छन् । तर पनि उनले अहिले विभिन्न संघसंस्थालाई दिएर ती संस्थाहरुले भने कुँवरकै सहयोग बाँडिरहेका छन् । उनले खाना प्याकिङ गरेर विभिन्न ठाउँमा लाने एउटा संस्थालाई ३ सय केजी चामल दिइसकेका छन् ।
उनी समाजसेवा गर्न पाए खुशी हुने बताउँछन् । ‘आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु, मलाई यसैमा रमाइलो लाग्छ’ उनले भने ‘आफूले गरेको राम्रो कामको चर्चा गर्न पनि मन लाग्छ, जोसुकैले जेसुकै भनुन् मतलव छैन ।’ फेसबुकमा राहत वितरणको तस्विर हालेपछि कहिलेकाँही आलोचना समेत सहेका उनले अरुलाई पनि यस्तै काम गर्न र फेसबुकभरि तस्विर हाल्नसमेत आग्रह गरेका छन् । उनले यसपालिको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेशनबाट गरेका हुन्, उनी नै यसको अध्यक्ष हुन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष उनी हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक हुन् ।

लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँच पटक रक्तदानको आयोजना पनि गरे । उनले चितवनको चेपाङ बस्ती निर्माणका लागि पनि त्यहीँ पुगेर पहल गरे र त्यसको लागि बैंकमा खाता खोलिदिएर केही रकम जम्मा पनि गरिदिए ।