Tuesday, 08, June, 2021

बहराइनका राजकुमार खलिफा सर्वोच्च शिखर सगरमाथामा

काठमाडौँ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरको छ ।

पर्यटन विभागका नुसार आज बिहान ६ बजेर ४० मिनेटमा राजकुमार खलिफासहितको टोलीले सगरमाथाको चुचुरामा पाइला टेकेको हो ।

आरोहण मार्गमा डोरी लगाउने कामीरिता शेर्पासहितको १२ सदस्यीय शेर्पा टोली बाहेक राजकुमार खलिफाको टोली यो याममा सगरमाथामा पुग्ने पहिलो समूह बनेको छ ।

यो समूहले विगतको भन्दा उचाई बढेको सगरमाथा चढेका हुन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८ दशमलव ८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।

राजकुमार खलिफाले गत वर्ष लोबुचे र मनास्लु हिमाल चढेका थिए । यो वर्षको वसन्त यामका लागि पर्यटन विभागले सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ । सन् २०१९ सगरमाथा आरोहणका लागि ३८१ जनालाई विभागले अनुमति दिएको थियो ।

सन् २०१९ यता पहिलोपटक सगरमाथा आरोहणका गरिएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष आरोहण बन्द गरिएको थियो ।