Wednesday, 09, June, 2021

ओलीलाई माधव नेपालको ६ बुँदे एकता प्रस्ताव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

एकता प्रस्ताव स्वीकार नगरे उनले सांसदबाट राजीनामा दिने चेतावनी दिएका छन् । एकताका लागि अब ओलीसित एक घण्टा मात्र समय बाँकी छ । नेपालले ओलीलाई आज बिहान साढे नौ बजेसम्मको समय सीमा तोकेका छन् ।

आइतबार सबै किसिमका वार्ता असफल भएपछि नेपालले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । नेपालले पठाएको पत्रमा पार्टी एकता कायम राख्न निम्न ६ बुँदे प्रस्ताव राखिएको छ ।

पहिलो : २०७५ जेठ २ गते अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने

दोस्रो : २०७७ फागुन २८ गते यता भएका सबै निर्णय रद्द गरिनुपर्ने

तेस्रो : पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने

चौथो : एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने

पाँचौं : सरकार र पार्टी बीचको सम्बन्ध सुमधुर बनाउने

छैटौं : पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने