Thursday, 10, June, 2021

दिउँसो पछि मौसम बदली हुने

काठमाडौँ । देशका धेरैजसो ठाउँको मौसममा केही सुधार आएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावका कारण बितेका केही दिनदेखि देशभरको मौसम बदली भइरहेकोमा आज बिहान घाम लागेको छ ।

दिउँसो पछि भने देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने संभावना छ । अहिले प्रदेश २ को धनुषा, महोत्तरी तथा प्रदेश १ को विराटनगर आसपास सहितका ठाउँमा पानी परिरहेको छ ।

प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।