Thursday, 23, September, 2021

आज कानुन दिवस मनाइँदै

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी कानुन दिवस मनाइँदैछ । नेपालमा २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी व्यवस्था गरेको थियो । नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ ।

कानुनसँग सम्बन्धित संघसँस्थाले २०३१ सालदेखि बैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् । कोरोना सङक्रमण जोखिमका कारण यसवर्ष भौतिक रुपमा कार्यक्रम हुने छैनन् ।

दिवसका अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निस्पक्ष र विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा प्रतिबद्ध रहेको बताएका छन् ।