Wednesday, 09, June, 2021

एनआरएनए एनसीसीको महासचिवका उम्मेद्वार नवराज सुवेदीले ल्याए दूरगामी एजेण्डा

काठमाडौं,अमेरिकावासी नेपाली नवराज सुवेदीले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचनका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।

दोलखामा जन्मिएर डिभी भिसाबाट अमेरिका पुगेका उनी त्यहीका नागरिक बनेपछि मात्र होइन नेपालमा छँदा पनि सामाजिक कार्यमा गहिरो रुची र सशक्त सहभागिता जनाउने पात्रमा गनिन्छन् ।

सक्रियताकै सिलसिलामा उनले एनआरएनएको सदस्यता प्राप्त गरे । देशभित्र रहँदा मात्र नभई अमेरिका पुगेर पनि उनले नेपालमा रहेका संघ–संस्थालाई अनि निर्माण कार्य जस्ता क्षेत्रमा आर्थिक सहयोगलाई जारी राखे । सुवेदीले अमेरिकाबाटै दोलखा भिमेश्वर नगरपालिका–७ स्थित चलचित्र रंगशाला र ऐतिहासिक संग्रहलय निर्माणमा उल्लेख्य आर्थिक सहयोग गरेका छन् । भूकम्पका बेला र त्यसपछि पनि उनले पीडितहरुलाई सहयोग गर्ने क्रमलाई रोकेनन् ।

अमेरिकाको ५० राज्यमध्ये २९ राज्यमा एनआरएनएको च्याप्टर संचालनमा छन् । उनी हाल नर्थ क्यारोरिनामा बासिन्दा हुन् । अमेरिकामा रहेका पाँच लाख गैरनेपालीहरुको हितमा प्रत्यक्ष सहभागी भई काम गर्ने उद्देश्यसहित आफूले महासचिव पदमा उम्मेद्वारी दिएको सुवेदीको बताए ।

उम्मेद्वारी दिनुका पछाडि उनले मुख्यगरी तीन वटा एजेण्डालाई अगाडि सारेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरिसकेका छन् ।
पहिलो अमेरिकामा आएर ग्रीनकार्ड वा नागरिकता प्राप्त गर्ने अमेरिकावासी नेपाली (गैरनेपाली) स्वतः एनआरएनए एनसीसीको सदस्य हुन पाउने विधानमा व्यवस्था, दोस्रो संस्थालाई दलीय स्वार्थ र भागबण्डा तथा सिन्डिकेटबाट मुक्त र तेस्रो संस्थाको हरेक काम र हिसाबकिताबमा पारदर्शीता

यी सबै काम पूरा गर्दै संस्थालाई अमेरिकामा रहेका झण्डै पाँच लाख अमेरिकावासी नेपालीहरुको सहभागिता भएको विशाला संस्था बनाउने आफ्नो योजना रहेको उनले बताए ।

अमेरिकामा रहेका कूल संख्यामध्ये दस प्रतिशत पनि संस्थामा आवद्ध हुन नसक्नु संस्था नेतृत्वको कमजोरी र व्यक्तिगत स्वार्थ मुख्य कारक बनेको उनको भनाई छ । स्वार्थमा फसेर भोलिका दिनमा संस्थालाई नै कुनै राजनीतिक दललाई बुझाइदिने खतरा रहेको विषय उनले औल्याए । यसलाई चिर्न आफूले उम्मेद्वारी दिएको बताउँछन् उनी । दोलखाको मकैबारीमा जन्मिएर अमेरिकी नागरिक बन्न पुगेका सुवेदी हाल पेशाले एमाजन र फेडेक्स कम्पनीमा आवद्ध छन् ।

दलीय स्वार्थबाट गएका नेतृत्व र पदाधिकारीकै कारण संस्था सिन्डिकेटमा फसेको र निकम्मा बनेको उनले बताए । चुनावमा ठूला र गुलिया नारा दिएपनि जीतेपछि सदस्यहरुको हितमा काम नगर्ने प्रवृत्ति मौलाएको भन्दै यसलाई तोड्न उनले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको बताए ।

मतदाताहरुले व्यक्तिगत स्वार्थपूर्तिमा संस्थालाई अल्झाइराख्ने विगतका परिपाटीलाई भत्काउँदै योपटक मतदाताहरुले आफूजस्ता स्वतन्त्र उम्मेद्वारलाई भोट दिएर चुनावमा जिताउने बलियो विश्वास सुवेदीले गरेका छन् । उनी कुनै प्यानलमा छैनन् । आफूले चुनाव जितेर संस्थालाई सधैं व्यवसायिकीकरण गर्नबाट रोकेर व्यवहारिक बनाउने उनको योजना छ ।

‘जित्नु मात्र ठूलो होइन, जितेपछि संस्थाको उद्देश्य र सदस्यहरुको प्रत्यक्ष हितमा काम गर्नु मुख्य कुरा हो’ सुवेदीले भने, ‘चुनावका बेला चिल्ला, मीठा नारा दिने, जितेपछि संस्थाकै बद्नाम हुने काम गर्ने र चुनावी नेटवर्कलाई प्रयोग गरेर आफ्नो दुनो सोझ्याउने खराब प्रवृत्तिलाई योपटकको चुनावबाट परास्त गर्न सबैसँग अपिल पनि गर्न चाहन्छु ।’ सर्वसम्मतिबाट नेतृत्व चयन गर्नमा उनको पहिलो जोड छ ।

योपटक महासचिवको जिम्मेवारी आफूले पाएमा दुई वर्ष पछाडि अर्थात सन् २०२३ को चुनावमा अमेरिकन भइसकेका सम्पूर्ण नेपालीलाई एनआरएनएमा मत दिन पाउने व्यवस्था विधानमै गरिने उनले बताए ।
यसैगरी सुवेदीले एनआरएनले अमेरिकामै बसेर पनि नेपाली र नेपाल सरकारलाई सक्दो सहयोग गर्न सकिने आधारहरु रहेको र त्यसमा संस्थाले पहलकदमी लिन सक्नुपर्ने बताए । नेपालको विकासको लागि पूर्वाधार निर्माण, जलस्रोत विकास, शिक्षा, स्वास्थ्य सेवा, उद्योगभन्दा खोल्न तथा सामाजिक कार्यमा आर्थिक सहयोग गर्न भरपर्दो पहल गर्ने योजना रहेको बताए ।

अमेरिकामै पनि पाँच मुख्य राज्यमा नेपालीहरु मिलेर अमेरिकी सरकारलाई नै सहयोग पुग्ने गरी उद्योग चलाउने योजना उनले सुनाए । व्यवस्थित तवरबाट संगठित गराउन नसक्दा छरिएर कोही कसैले कसलाई नचिन्नेसम्मनको अवस्थाबाट गुुज्रिरहेका अवस्थाको अन्त्य गर्ने कार्ययोजना उनले बनाएका छन् ।

अमेरिकाको नागरिक भइसकेका नेपालीहरुको धर्म, संस्कृति र सभ्यता जोगाउन विशेष अभियान सञ्चालन गर्ने र धर्म–परम्परालाई यहाँ रहेर विश्वभर चिनाउने कामलाई संस्थासँग जोडेर लैजाने र व्यापक बनाउने योजना उनको छ । नेपालीहरुले मनाउने चाड–पर्व, संस्कृति परम्परामा बिदा दिन अमेरिका सरकारसँग माग गर्ने अर्को योजना पनि उनीसँग छ ।

उनले अर्को महत्वपूर्ण योजनाको रुपमा केही विषयलाई एजेण्डाकै रुपमा प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका ५० प्रतिशत नेपालीलाई संस्थामा आवद्ध गराउने नीति जितेकै दिनबाट बनाउने, हरेक अमेरिकावासी नेपालीको समस्यामा सहभागी हुने, नेपालीहरुको लगानीमा अमेरिकामा ठूलाठूला उद्योग चलाउने र नेपालमा प्रत्यक्ष रोजगार दिन नेपालभित्रै उद्योगधन्दा खोल्ने एजेण्डालाई कार्यान्वयनमा लैजाने बताए ।

विगतमा भूकम्पको केन्द्र गोरखाको बारपाकमा एनआरएनले घर बनाइदिने, बालुवाटारमा जग्गा किन्ने जस्ता विषयमा हात हालेर संस्थाकै बद्नाम गरेको उनको मत छ । घरको छत दिएर मात्र नुहने, त्यहाँ बस्ने मानिसलाई रोजगारको ग्यारेन्टी गर्ने कुरा मुख्य ठान्छन् सुवेदी ।
एनआरएन पनि हरेक हिसाबले दक्ष बन्ने, नेपालमा रहेका दाजुभाई दिदीबिहनीहरुलाई दक्ष जनशक्ति बनाउने कुरा मुख्य हुने उनको भनाई छ ।

त्यसनिम्ति अमेरिकावासीलाई अमेरिकामै र नेपालीका लागि नेपालमै सीप र ज्ञानपमूलक तालिम ठोस रुपमा सञ्चालन गर्ने उनको योजना छ । खाली मिडियामा आउन फोटो खिचाउन र तडकभडकमा रम्ने पात्रहरुकै कारण संस्था गतिशील हुन नसकेको बताउँछन् उम्मेद्वार सुवेदी । दक्ष जनशक्ति बन्न सकेमात्रै अमेरिकावासी नेपालीको अहिलेको घण्टाका नौ डलरलाई बढाएर १५–२० पाउने बनाउन सकिनेमा उनी ढुक्क छन् । हरेक मानिस स्वरोजगार बन्नुपर्नेमा उनको जोड छ ।


संस्थालाई सूचनामैत्री बनाउने, संस्थाको हरेक गतिविधिबारे जानकारी दिन सकिने गरी एनआरएनको एप बनाउने उनले बताए । एप डाउनलोड गरेर आफ्नो संस्थाको सबै जानकारी हरेकले लिन सकिने बनाएको खण्डमा संस्था पारदर्शितामा जाने र नेतृत्वमाथि गलत आक्षेप नलाग्ने बाटोमा आफू हिँड्ने बताए । त्यसो गर्न स्वतन्त्र कित्ताबाट कुशल, गतिशील, जुझारु र परादर्शी नेतृत्व आवश्यक रहेको र त्यसलाई पूरा गर्न आफू अगाडि अगाडि आएको बताए ।

उनका अनुसार अहिलेका नेतृत्व प्रणाली माथी बस्नेहरुले तलबाट आएका गुनासाहरु नसुन्ने, खाली अह्राउने र तल बस्नेहरुले त्योअनुसार गर्ने परिपाटी रहेको र त्यसलाई उल्ट्याएर गुनासा गर्नेहरुलाई मञ्चमा राखेर नेतृत्व तल बसेर सुन्ने संचरना बनाउने कार्यक्रम उनले सुनाए ।

संस्थामा फर्जी मतदातालाई हटाउनु पनि आफ्नो दायित्व रहेको उनले बताए । एजेण्डाले भन्दा तिकडम गरी चुनाव जित्न कतिपय नेतृत्वका उम्मेद्वारले झण्डै आधाजसो मतदाता संख्याको सूची पेनड्राइभ बोकेर हिँडिरहेको उनको जिकिर छ । संस्थाको हितका लागि हाम्रा नभई राम्रा मान्छेलाई चुनावमा मत दिएर मतदाताले सही विवेक देखाउनने बेला आएको हुने उनको भनाई छ । विवेक प्रयोग गर्न नसक्दा संस्थाप्रति आकर्षणभन्दा विकर्षण पैदा हुँदै गएको बताउँदै स्वतन्त्र उम्मेद्वारलाई मत दिन अपिल गरे ।

चुनाव जित्दा संस्था सही र हार्दा गलत मान्ने पक्षमा आफू नरहेको उनले प्रष्ट पारे । आसन्न चुनाव जितेर अमेरिकावासी नेपालीले व्यहोर्दै आइरहेको दोहोरो कर प्रणाली हटाउन र एनआरएनले नेपाली नागरिकता प्राप्त गर्र्नेसम्बन्धी कानून छिटोभन्दा छिटो बनाउन नेपाल सरकारसँग संस्थाको तर्फबाट पहल गर्ने विषयलाई उनले जरुरी कार्ययोजनामा राखेका छन् ।