Friday, 07, May, 2021

निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौमै सांसद र नगरपालिका प्रमुखबाट पर्खाल शिलान्यास

काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौमै सांसद र नगरपालिका प्रमुखबाट पर्खाल शिलान्यास गरिएको छ ।

टोखा नगरपालिका २ मा गत शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ठूलो संख्यामा भेला भएर पर्खाल उद्घाटन गरिएको स्थानीयले बताएका छन् । उपमेयर ज्ञानमाया डंगोलको घर नजिकै प्रदेशका एमाले सांसद दीपक निरौला, नगर प्रमुख प्रकाश अधिकारी, उपमेयर डंगोलका साथै अन्यको सामूहिक उपस्थितिमा पर्खाल शिलान्यास गरिएको जनाइएको छ । निषेधाज्ञाको उल्लंघन गर्दै धेरै मानिस भेला गरेर पर्खाल शिलान्यास गरिएको जनाइएको छ । तीनै जना एमालेबाट निर्वाचित हुन् । श्रमिक दिवसका दिन श्रमिकलाई प्रोत्साहन र हौसला दिनुपर्नेमा उल्टै काममा लगाएको प्रति पनि आपत्ति जनाइएको छ । यो दिन उनीहरुले विशेष कार्यक्रम गरी सुख दुःख साट्ने गरेका थिए तर यसपालि केवल औपचारिकतामा मात्र सिमित रहयो ।

सांसद, मेयर र उपमेयरले नै यसरी निषेधाज्ञा उल्लंघन गर्दा स्थानीय नागरिकहरु भने छक्क परेका छन् । उपमेयरको घर पहिरोको जोखिममा परेकाले पर्खाल बनाउन लागिएको भनिए पनि त्यहाँ त्यस्तो संकट नभएको स्थानीयको भनाई छ । एक स्थानीयले अन्य ठाउँमा पहिरोको जोखिम रहे पनि अहिले शिलान्यास गरिएको ठाउँ भने खतराको सूचीमा नरहेको बताएका छन् ।

कोरोना संक्रमण बढेपछि सरकारले एक सातादेखि काठमाडौ उपत्यकामा लकडाउन घोषणा गरेको छ । सरकारले कुनै पनि कार्यक्रम गर्न २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको थियो तर अहिले भने सबै प्रकारका भेला र गोष्ठी बन्द गरेको छ ।