Friday, 07, May, 2021

जब मास्क नलगाउनेलाई प्रदेश प्रमुख झाले नमस्कार टकराए……

जनकपुर, शनिबार दिउँसो टन्टलापुर घाम लागिरहेका बेला प्रदेश २ का प्रमुख राजेश झा पैदल हिँडेरै जनकपुर बजार क्षेत्र निस्किए ।

कोरोना माहामारीको दोस्रो लहरले जनकपुरधाम लगायतका प्रदेश २ का सबै जिल्ला प्रभावित रहेको समयमा प्रदेश प्रमुख झाले बजार अनुगमन गर्दै मास्क नलगाएका व्यापारीहरूलाई नमस्कार नै टकराए  ।

सावधानी अपनाउन आग्रह गर्दै उनले मास्क नलगाउने व्यापारीहरुलाई  मास्क बाँडेर जब लगाउन समेत सिकाए तब  प्रमुख झाको काम देखेर स्थानिय छक्क परे ।

प्रदेश प्रमुखले नै नमस्कार गरेको देखेर केहि व्यापारीहरु लाजले रातोपिरो समेत बने । जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म पैदल हिँडेरै पसले तथा बजारमा सामान किनमेल गर्न निस्केका बटुवाहरूमध्ये मास्क नलगाएकाहरूलाई प्रदेश प्रमुख झाले मास्क बाँडेका थिए।

बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई प्रमुख झाले मास्क बाँडेर लगाउने तरिका राम्ररी सिकाएका थिए । चर्को घाममा पैदल हिडेर सबैलाई सचेतना फैलाउदै हिडेको देखेर स्थानियले पनि उनको कामको प्रशंसा गरेको प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए ।

सरकारले कोरोना संक्रमण तीव्र गतिमा फैलिने विभिन्न जिल्लाको सूचीमा धनुषालाई समेत सूचीकृत गरेको समयमा जोखिम बढ्न नदिन स्थानीयले मास्क लगाए नलगाएको भन्ने बारे अनुगमन गर्नकै लागि प्रदेश प्रमुख झा जनकपुरधाम बजार क्षेत्रमा निस्किएका हुन् ।