Friday, 07, May, 2021

कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह

काठमाडौं , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै व्यवस्थापन गर्न माग गरेका छन् ।

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गरे ।

कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु,ु विज्ञप्तिमा उल्लेख छ ।

साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डको अपिल छ । महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरे ।

यस्तै श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको प्रचण्डको भनाइ छ । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको उनले बताए ।

अध्यक्ष दाहालले पश्चगामी र परिवर्तन विरोधी तत्व श्रमजीवि जनताका अधिकार खोस्न उद्त देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्न श्रमिक वर्गमा अपिल गरे ।