Friday, 07, May, 2021

भारतमा रहेका नेपालीलाई कोरोनाबाट बचाउन पाण्डेको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा रहेका नेपालीलाई कोरोनाको महामारीबाट जोगाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उनले आज प्रेस विज्ञप्ती जारी गरी भारतमा फैलिएको कोरोनाका कारण धेरै नेपालीले ज्यान गुमाएको र उपचार सम्भव नभएकाले दैनिकी कष्टकर बन्दै गएको उल्लेख गरेका छन् । भारतमा फैलिएको जस्तो महामारी नेपालमा फैलन नदिन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई उनले पत्र नै लेखेका छन् । उनले दूतावास, नागरिक समाज, पत्रकार र सबैलाई समेटेर रेस्क्यू टिम बनाई नेपालीको उद्धारमा लाग्नसमेत सुझाव दिएका छन् । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई एकै प्रकारको पत्र लेखी नेपालीको अवस्था चिन्ताजनक भएकाले तत्कालै विशेष पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

पाण्डेले उपचारको अभावमा भारतमा दैनिक धेरै स्थानीय तथा नेपालीहरुको पनि मृत्यु भएकाले विशेष चासो दिन पनि अनुरोध गरेका छन् । भारत सरकारले आफ्नो सबै स्रोत र साधन प्रयोग गर्दा पनि संक्रमण नियन्त्रणबाहिर गएकाले बेलैमा सचेत भएर नेपाली नागरिकको जीवनरक्षाका लागि पहल गर्न उनले आग्रह गरेका छन् ।