Friday, 07, May, 2021

केही दिनभित्र नयाँ सरकार गठन हुनेछ : प्रचण्ड

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको अगुवाइमा तीन दलको बैठक बसेको एक दिनपछि शनिबार प्रचण्डले नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकमा बोल्दै परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताएका हुन् ।

’नयाँ सरकारको गठनमा छौं । केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । कालो बादल हट्छ भन्नेमा म आशावादी छु । त्यो प्रयासमा हामी निरन्तर प्रयासरत छौं,’ प्रचण्डले भने । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार सरकार गठनका विषयमा माओवादी र जनता समाजवादी पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका थिए । सोही विषयलाई प्रचण्डले शनिबारको अभिव्यक्तिमा केही दिनभित्र सरकार गठन हुने दाबी गरेका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँताएकोमा पनि प्रचण्डले आपत्ति जनाएका छन् । ’विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गरिएको छ, त्यसलाई पुनर्मिलन गराउन चाहन्छौं । नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत यसबीचमा भएका ज्यादतीलाई सच्याउन चाहन्छौं,’ उनले भने । राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न दलहरू लागिरहेको पनि उनले बताए ।

राजनीतिक परिस्थिति अझै सहज भइनसकेको दाहालको भनाइ थियो । ’संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको कालो बादल हटिसकेको छैन,’ उनले भने ।

अहिले सरकार कसको नेतृत्वमा हुने र प्रधानमन्त्री को हुने भन्ने कुरा गौण भएको दाहालको भनाइ थियो । उनले संविधानअनुसार चल्ने सरकार हुनुपर्ने कुरा राखेका थिए । संविधान संशोधन र परिमार्जन गरेर जानुपर्ने पनि बताएका छन् । जसपाले बारम्बार संविधान संशोधन गर्नुपर्ने माग राखिरहेका बेला दाहालको भनाइ थियो, ’संविधानमा अपुग छ भने परिमार्जन र संशोधन गरेर जानुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र नियमा विपरीत काम गरिरहेको पनि प्रचण्डको भनाइ थियो । उनले सरकारले राज्यका सबै अंगमा कब्जा जमाएर मुलुकमा अन्यौल र सन्त्रासको अवस्था आएको बताए । तीन राजनीतिक दलहरूबीचको बैठकमा नेताहरूबीच ओलीले त्यस्ता काम गरेको र त्यसलाई रोक्ने विषयमा समझदारी बनेको बताए । उनले भने, ’राज्यका सबै अंगहरूमाथि जबरजस्ती कब्जा जमाउने कुरा छ भन्नेमा तीन दलबीच सहमति थियो ।’