Friday, 23, April, 2021

कांग्रेसको लागि सत्ता प्राथमिकता होइन– कोषाध्यक्ष सापकोटा

काठमाडौं । नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले कांग्रेसको लागि अहिलेको अवस्थामा सत्ता प्राथमिकताको विषय नभएको बताएका छन् ।

आज बिहान एक रेडियोसँग कुरा गर्दै उनले निर्वाचनमा जाने र सिस्टम जोगाउने विषयमा कांग्रेसले ध्यान दिएको बताए । ‘कांग्रेसको ध्यान सत्ताभन्दा पनि आफ्नो महाधिवेशन बढी केन्द्रित छ’ उनले भने ‘ कम्युनिष्टलाई जनतालाई दिएको मतको अपमान गरे, फेरि पनि जनतालाई झुक्याउँछु भन्ने सोचेका होलान् त्यो सम्भव छैन ।’ सापकोटाले यो सरकार रहँदासम्म विकास र प्रगति शून्यमा हुने भएकाले तत्काल सरकारबाट प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने बताए । ‘कम्युनिष्टकोे सरकार रहुञ्जेलसम्म तानाशाह शासन हुन्छ, अधिनायकवाद र एकाधिकार हुन्छ त्यसैले पनि यसको विकल्प खोज्नुपरेको छ’ उनले थपे ‘ नेपालको कम्युनिष्ट ‘फिलोसोफी’ नै असफल भइसकेको छ, विश्वभर पनि कम्युनिष्ट सकिएका छन्, यहाँ पनि त्यही अवस्था आएको छ ।’

उनले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले देशलाई झन् अन्यौल बनाएको बताए । कोषाध्यक्ष सापकोटाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको पनि आरोप लगाए । कांग्रेसले समयमै निर्णय नगरेको र देशलाई बन्धक बनाएको भनेर भनेर भनिरहेको बेला उनले यसरी प्रष्ट पारे ‘ कांग्रेसले उत्ताउलोपन देखाउँदैन, बेला भएपछि महत्वपूर्ण निर्णय लिन्छ ।’ उनले कांग्रेसको सही निर्णयले देशलाई सही ‘ ट्रयाक’ मा ल्याएको पनि स्पष्ट पारे ।

आगामी महाधिवेशनले कांग्रेसलाई नयाँ गति दिने उनको भनाई छ । ‘कांग्रेसमा पनि नयाँ विचार बोकेका धेरै मानिस छन् त्यसैले पनि नेतृत्वमा पुस्तान्तरण हुनु जरुरी छ’ उनले भने ‘हिजोको दिनमा कांग्रेसले पनि केही गल्ती गरेको होला ती सबैलाई बिर्सेर नयाँ ढंगले अघि बढ्नुपर्दछ, त्यसमै पार्टी र जनताको हित हुन्छ ।’