Friday, 23, April, 2021

‘प्रिय मौनता’  लिएर आउँदै  कवि  नेत्र एटम

काठमाडौं , साहित्यकार डा. नेत्र एटमको उपासना कविता ‘प्रिय मौनता’ बजारमा आउँदै छ ।

विगत तीन दशकदेखि अनवरत रुपमा साहित्य जगतमै लागि परिरहेका एटमको नयाँ कृति ‘प्रिय मौनता’  चैत्र १४ गते (शनिबार) विमोचन हुन लागेको हो । अन्तरविरोधको आवाज समेटिएको उपासना कविता ‘प्रिय मौनता’मा डा. पुष्प दमाईले मौनताको शौन्दर्यशास्त्रको प्रतिपादन गर्दै भूमिका लेखेका छन् भने कवि एटमले उपासना कविताबारे आफ्नो धारणा राखेका छन् ।

कूल पाँच खण्ड गरी कूल ६० ओटा कविता संग्रहित सो पुस्तक भोली दिउँसो एक बजे कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा विमोचन गर्न लागेको साहित्यकार एटमले बताएका छन् ।

लुम्बिनी प्रदेशको दाङमा जन्मिएका साहित्यकार एटम वि.सं. २०४६ सालमा पहिलो पटक ‘परिमल’ मासिक  पत्रिकामा मुक्तक प्रकाशन गरी साहित्यिक यात्रामा लागेका हुन् । उनका थुप्रै साहित्यिक सिर्जनाहरू बजारमा आइसकेका छन् । जसमध्ये ‘शब्दको नेपथ्य’ संयुक्त कविता संग्रह, ‘भित्र कतै दुख्छ भने’ गजल संग्रह र ‘सीमान्त आकाश’ निवार्ता संग्रह प्रमुख कृतिहरु हुन् ।

त्रिभुवन विश्वविद्यालयको नेपाली विभागको सह-प्रध्यापक रहेका साहित्यकार एटम राम्रो समालोचक पनि हुन् । उनका १० ओटा समालोचना, ५ ओटा सम्पादित र २ ओटा अनूदित कृति पनि प्रकाशित छन् ।