Friday, 23, April, 2021

किन पुगे प्रदेश प्रमुख डा.झा किसानको खेतमा ?

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झा एक्कासी किसानको खेत, खेतमा पुगे । उनि किसानको खेतमा पुग्नुको कारण थियो किसानको सम्मान गर्न । किसानले गरेको कर्मको उच्च सम्मान गर्दै खेतमा नै पुगेर किसानलाई खादा ओढाएर सम्मान गरेका छन् ।

प्रदेश प्रमुख डा. झाले सिरहाको गोलबजार नगरपालिका वडा नंं २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहनुभएका एक दर्जन भन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर सम्मान गरेका छन् ।

गाउँका करिब दुई सय घरका किसानले व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको थाहा पाएर किसानको सम्मानका लागि प्रदेश प्रमुख खेतमा नै पुगेर कृषि कर्मलाई प्रोत्साहन गर्नुका साथै किसानको हौसला बढाउने काम गरेका छन् ।

कृषि उत्पादनको दृष्टिकोणले देशमा नै अग्रणी प्रदेशको रुपमा प्रदेश २ रहेकाले कृषि कर्मलाई उच्च महत्त्व दिएर प्रदेश प्रमुख डा.झाले खेतमा पुगेर किसानसँगै खाजा पनि खेतमा नै खाएका थिए । हामी नेपाली सबै किसान रहेको र कोही मालिक नभएकोले किसानलाई उच्च सम्मान गर्नु जरुरी रहेको उनले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

करिब २० वर्ष देखि सो वडामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएको र उत्पादित तरकारीलाई पहाडी जिल्लाका साथै सिरहा, सप्तरी, उदयपुर तथा भारतको जयनगरसम्म किसानहरूले बिक्री गर्दै आएका छन् । करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती हुने गरेको पत्रकार अर्जुन थपलियाले जानकारी दिए ।

यस अघि प्रदेश सरकारले पदक वितरण सम्बन्धी ऐनमा किसानलाई सम्मान गर्ने कुरा समावेश नभएको भन्दै किसानलाई पनि पदक दिने सूचिमा राख्नका लागि सुझावसहित विधेयक फिर्ता गरेको केही दिनमा नै किसानको सम्मानका लागि आफै खेतमा पुगेर सम्मानको थालनी गरेका हुन् । यसबाट स्थानीय किसानहरू निक्कै उत्साहित बनेका छन् । साथै किसानहरूले आफूहरूलाई सिचाइको आवश्यकता भएको र राम्रो सिचाइको व्यवस्था गराईीदन प्रदेश प्रमुखसँग आग्रह पनि गरेका छन् ।