Tuesday, 20, April, 2021

समाजसेवामा सक्रिय बन्दै सांसद दिपेन्द्र श्रेष्ठ

काठमाडौं । सांसद भएपछि मान, सम्मान र ईज्जतको ख्याल गर्नुपर्छ, जसले जहिले जहाँ बोलाए पनि गइहाल्दा लाज हुन्छ र वेइज्जत हुन्छ भन्ने धेरै सांसदको धारणा हुन सक्छ तर त्योभन्दा अलिकति फरक छन् काठमाडौं १ को (१) नम्वर प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद दिपेन्द्र श्रेष्ठ ।

उनी समाजको हितको लागि जहाँ पनि पुगिहाल्ने गर्छन् । ‘सामाजिक काम भनेपछि छोड्न मन लाग्दैन, जनताले मलाई जिम्मेवारी दिएको नै त्यही हो’ उनी भन्छन् ‘ समाजलाई विर्सियो भने राजनीति संकटमा पर्छ, हामीले त्यस्ता धेरै उदाहरण देखेका छौं, म सानो ठाउँमा पनि गएर ठूलो काम गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे हो ।’ सधैं जनताको काममा नै लागेको बताउने उनी आफ्नो पार्टी प्रतिपक्षमा भएकाले सोचेजति काम गर्न नसकेको पनि स्विकार्छन् ।

‘हामी विपक्षमा छौं त्यसैले पनि हामीले लगेको योजना कार्यान्वयन गर्न उनीहरु मान्दैनन् तर पनि आफ्नो ठाउँबाट पहल गरिरहेको छु’ उनले भने ‘ फाइल छोड्दा महिनौंसम्म पनि अलमल हुन्छ, समयमा काम गर्दैनन् र जहाँ गए पनि हुन्छ कि हुँदैन भनेर टुंगो लाएर मात्र हिँड्छु ।’ उनले कतिपय कार्यालयमा धर्ना बसेर समेत काम गर्न बाध्य पारेको पनि स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको कारण भएको लकडाउनमा पनि उनले स्थानीयलाई राहत वितरण गरेका थिए । उनले केही दिनअघि मनोहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियान मनोहरा करिडोर, काठमाडौं ३२ जडिबुटीको लागि १० वटा ज्याकेट वितरण गरेका थिए । उनले फेसबुकमा स्टाटस लेख्दै सहयोग गर्न पाएकामा खुशी लागेको पनि जनाएका छन् । उनले अभियानमा नै पुगेर ती सामग्री हस्तान्तरण गरेका थिए ।

‘स्वच्छ मेरो पहिचान, सफाइमा मेरो अभियान,
स्वच्छ सफा हराभरा, हाम्रो मनोहरा’ भन्ने नाराका साथ यो अभियान २०७४ सालदेखि चल्दै आएको छ ।