Friday, 23, April, 2021

कुँवरद्धारा सञ्चालित चक्रपथ सफाई अभियान १ सय ९८ औं हप्तामा

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरद्धारा सञ्चालित चक्रपथ सफाई अभियान १ सय ९८ औं हप्तामा पुगेको छ ।

शनिवार आयोजित सरसफाई कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै अभियन्ता कुँवरले सबैको सहयोगले अभियान यहाँसम्म आइपुगेकोमा खुशी व्यक्त गरे । ‘केही गरौं भनेर यो फोहोरी काम थालेको थिएँ, अहिले यसैमा रमाइलो लागेको छ’ उनले खुशी हुँदै भने ‘सबैको साझा प्रयासमा हामी सफल भएका छौं, आगामी दिनमा पनि अभियानले थप व्यापकता पाउनेमा विश्वस्त छु ।’ आफ्नो घर अगाडि अरु मानिसले फोहोर ल्याएर थुपारिदिन थालेपछि सबैलाई सचेत गराउने काममा लागेका उनले पछि आएर अभियान नै चलाएका हुन् ।

उनले आफ्नै स्रोत र खर्चबाट अभियान यहाँसम्म आइपुगेको स्पष्ट पारेका छन् । वाफल रिङरोडमा नै घर भएका कुँवरले कलंकीदेखि बालाजुसम्म अभियान चलाउँदै आएका छन् । हरेक शनिवार बिहान ७ बजेबाट दुई घण्टा समय निकालेर सामाजिक काममा खर्चन उनले आग्रह गदै आएका छन् । शनिवारको कार्यक्रम हजुरलाई नमस्ते परोपकारी संस्थाले आयोजना गरेको हो । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक उनले कोरोना भाइरसका कारण भएको लकडाउनमा झण्डै २ हजारलाई राहतस्वरुप चामल, दाल, आलु, तेल, नुनलगायतका सामग्री वितरण गरेका थिए ।

उनले केही दिन रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए । शनिवारको कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । अभियानमा मन्त्री, पूर्वमन्त्री, कलाकार, प्रहरी र सशस्त्रका प्रतिनिधिलगायतको उपस्थिति हुँदै आएको छ ।