Tuesday, 20, April, 2021

प्रदेश नंं २ का प्रमुख डा.झाबाट दुई विधेयक सुझावसहित फिर्ता

जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख डा.राजेश झाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएका दुई वटा विधेयक आवश्यक सुझावसहित फिर्ता पठाउनुभएको छ ।
उहाँले स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाउनु भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनु भएको छ ।
प्रदेशमा आफ्नै स्वास्थ्य सम्बन्धी कानुन बनाउन सामाजिक विकास मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएकोमा प्रदेश प्रमुखले विधेयकमा भएको कमी कमजोरी औँल्याउँदै १३ वटा विषयहरू छुटेकाले थप गर्नका लागि बुँदागत सुझावसहित फिर्ता पठाउनु भएको छ ।
विधेयकमा मातृत्व सुरक्षा लगायतका महत्त्वपूर्ण बुँदाहरू बुँदागत रुपमा सुझावको रुपमा थप हुनु पर्ने सुझावसहित विधेयक फिर्ता पठाउनु भएको छ ।यसै गरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा १० वटा बुँदाहरू सुझावसहित प्रदेशसभा सचिवालयमा फिर्ता पठाउनु भएको छ ।
विधेयकमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई पदक दिने कुरा उल्लेख भए पनि कतिपय महत्त्वपूर्ण क्षेत्रमा काम गर्नेहरू छुटेकाले समावेश गर्नका लागि सुझाव दिनु भएको छ ।
प्रदेश नंं २ का सरकारले पदक बाँड्नका लागि चालू आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सभाका सचिवालयका सचिव यादवले सुझावहरू समावेश गरेर अर्को विधेयक बन्न सक्दछ वा पुनः जस्ता त्यस्तै पठाउन सक्ने अधिकार प्रदेश सभाको रहेको जानकारी दिनुभयो ।
दोस्रो पटक विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखमा पठाएपछि पारित गर्नु पर्ने प्रावधान संविधानमा रहेको जानकारी पनि सचिव यादवले दिनुभयो । प्रदेश २ मा अहिलेसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनेको छ ।